काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफी पत्र पठाएको छ ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पत्र पठाएको ५ महिनापछि अमेरिकाको वासिङ्टन डिसीस्थित एमसीसीको मुख्यालयले जवाफी पत्र पठाएको हो । एमसीसीका कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले फेब्रुअरी ३ तारिखका दिन गत बिहीबार प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै जवाफी पत्र पठाएका हुन् ।
एमसीसीले फेब्रुअरी २८ तारिख अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा पनि दिएको छ । सेप्टेम्बर २९, २०२१ मा नेपालको तर्फवाट पठाइएको पत्रमा माग भएअनुसार ५ महिनाको समयसीमा सकिन लाग्दा एमसीसीले सो पत्र पठाएको हो ।
फेब्रुअरी २८ तारिखभित्र एमसीसी पारित नभए आगामी मार्चमा बस्ने एमसीसी बोर्डको बैठकले यसको निरन्तरताबारे अन्य कदम चाल्न सक्ने पत्रमा उल्लेख गरिएको छ । एमसीसी संसद्बाट पारित नभएको खण्डमा ५ सय मिलियन डलर बराबरको अनुदान सहयोगलाई खारेज गर्ने अधिकार बोर्डसँग रहेको र यदि बोर्डले सो निर्णय गरे नेपालसँग एमसीसीको सहकार्य अन्त्य हुने पत्रमा प्रष्ट रुपमा भनिएको छ ।
नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद जारी रहेको बेला एमसीसीको मुख्यालयले भने फागुन १६ गतेभित्र संसदबाट एमसीसी अनुमोदन गरिसक्न पत्राचार गरेको हो । उनले प्रधानमन्त्री देउवा र प्रचण्डलाई संयुक्त पत्र पठाउँदै एमसीसी कार्यान्वयनका विषयमा छिटो टुंगोमा पुग्न आग्रह समेत गरेका छन् ।
यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए । गत कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागिता भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धता जनाई एमसीसीलाई पत्र पठाएको खुलासा गरेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता सहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।
यस्तो छ हेर्नुहोस् एमसीसीले देउवा र प्रचण्डलाई पठाएको जवाफी पत्र
यो पनि पढ्नुहोस्
देउवा र प्रचण्डले एमसीसी संसदबाट पारित गर्ने भनेर पत्र पठाएको खुलासा (पत्रसहित)