काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको हो ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै एमसीसी पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताउदै एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएको भनेर संचार माध्यममा समाचार बाहिर आएका थियो ।
शनिबार भएको सत्ता गठबन्धनको बैठकमा सरकार सञ्चालनका लागि गठन भएको संयन्त्रका संयोजक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने प्रस्ताव गरेका थिए । पौडेलले गठबन्धनमा सहमति गराएर एमसीसी सम्झौता अनुमोदन गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवाले पनि एमसीसी सम्झौतालाई अब धेरै तन्काएर राख्न नसकिने भन्दै अनुमोदन गरेर जान र गठबन्धनको निरन्तरताका लागि यस्ता मुद्दामा साझा धारणा बनाएर जान आग्रह गरेका थिए ।