१३ जेष्ठ २०८१, आइतबार

एमसिसी पारित हुँदैन, गठबन्धन तोडिदैंन : नेता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसिसी पारित नहुने बताएका छन् । उनले एमसिसी सम्झौता संसदबाट पारित नभए सत्तारुढ गठबन्धन तोडिन्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले नदिएको पनि दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले एमसिसी पारित गर्ने सहमति भएको भन्ने कुरा सत्य नभएको पनि बताएका छन् । शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसिसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति नेता श्रेष्ठले सो कुरालाई अस्वीकार गर्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

उनले भनेका छन्, ‘कुनै भ्रममा नपरौं; प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

गठबन्धनको एकता कायम राख्न चाहेको साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध रहेको श्रेष्ठले बताएका छन् ।

उनले थप्दै लेखेका छन्, ‘हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहन्छ साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध छ । हाम्रा लागि अन्य सबै विषय त्यसमातहत रहनेछन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !