११ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


कृष्णचन्द्र नेपाली पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले २३०६ मत ल्याई विजयी भएका हुन् ।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले २७२० मत प्राप्त गरे । यस्तै शोभियत बहादुर अधिकारीले २०३४ र रेशमबहादुर बानियाले १९३८ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छन् ।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए । उनलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गरेका थिए । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताए ।

उनले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !