काठमाडौँ । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिला २ तर्फ कूल ४६५० मत खसेकामा ५४ मत बदर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।
यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनले २२१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले २१७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेका छन् । दलिततर्फ ४६७० मत खसेको थियो ।
त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे २७११ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास लामाले १९१३ मत प्राप्त गरेका छन् । आदिवासी जनजातीतर्फ ४६८१ मत खसेको थियो ।
कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
यो पनि पढ्नुहोस्
कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा कोइराला प्यानलका परियार विजयी
कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बे विजयी
काँग्रेसको महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्याय निर्वाचित