काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि शुरु भएको हो ।
केहीबेर अघिसम्म ३५०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले १६३४, विजयकुमार गच्छदारले १४४३, धनराज गुरुङले १४३७, डा. चन्द्र भण्डारीले १२५८, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतगणना तीन स्थानमा भइरहेको छ । सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।
सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना शुरु गरिने समितिले जनाएको छ ।