१९ बैशाख २०८१, बुधबार

सभापतिमा भोट माग्दै देउवाले भने- एकपल्ट मलाई जिताइदिनुस्


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट देशले मुक्ति पाएको भन्दै यसपल्ट आफूलाई काँग्रेस सभापतिमा जिताइदिन अनुरोध गरेका छन् ।

पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेदेखि जनताले मुक्ति पाएको महसुस गरेको दावी गरेका हुन् । अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।

देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए । मलाई एकपल्ट जिताइदिनुस् ।’ उनले थप्दै भने, ‘धेरैकुरा भन्नु छैन, यसपल्ट मलाई जिताइदिनुस् । ओली शासनबाट मुक्त गरेको छु । मैले जितेँ भने तलदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ ।’

सभापति देउवाले ओलीको साशनबाट जनलाई मुक्ति दिएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिनुपर्ने अडान राखे । उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको र त्यसका लागि आफूलाई जिताउनुपर्ने बताए।

पार्टीको उद्घाटन सत्रमै सभापतिको भोट माग्दै देउवाले ‍निकट भविश्यमा हुन लागेका तीन वटै तहको निर्वाचनमा विजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने तर्क पेश गरे । उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन दोहोर्‍याएर आग्रह गरेका हुन् ।

सभापति देउवाले आफूले सरकारको नेतृत्व गरेपछि डर-त्रासमुक्त समाज बनेको दावी समेत गरेका छन् । आफूले फेरि सभापतिमा जितेर प्रधानमन्त्री भएमा देउवाले डर त्रास मुक्त समाज बनाएरै छोड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

देउवाले भने, ‘मेरो सरकार भन्दा अघिको समय हेर्नुस्, डस-त्रास । म प्रधानमन्त्री भएपछि सबैले मुक्ति पाए । ओलीको शासनबाट सबैले मुक्ति पाए । अब पनि डर त्रासबाट मुक्त समाज बनाउने कि नबनाउने भन्ने यो महाधिवेशनले तय गर्छ । अब कांग्रेसले जित्नुपर्छ । आउँदो सरकार गाउँदेखि माथिसम्म कांग्रेसको सरकार हुन्छ । डर-त्रास मुक्त समाज बनाइन्छ, बनाइन्छ, बनाइन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !