१२ बैशाख २०८१, बुधबार

पूर्वराजाको सचिवालयको स्पष्टीकरण : ज्ञानेन्द्र र हिमानीले फेसबुक, ट्विटर चलाउनुहुन्न


ज्ञानेन्द्र र हिमानी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको स्पष्ट पारेको छ । पूर्वराजा ज्ञानेन्द्रका सम्वाद सचीव फणिराज पाठकले हिजो दुई छुट्टाछुट्टै सूचना जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाहको आधिकारिक सामाजिक सञ्जाल नभएको स्पष्टीकरण दिएका हुन् ।

सम्वाद सचीव पाठकले जारी गरेको सूचनामा राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

पूर्वराजा शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो । शाहको नामबाट सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने काम भएको भन्दै उनको सचिवालयले यस्ता भ्रमजालबाट मुक्त रहन अनुरोध गरेको छ।

पूर्वराजा शाहको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखिबक्सनु स्वभाविक हो । तर मौसुफबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ। यस्तो निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउनसमेत अनुरोध गरिन्छ ।’

ज्ञानेन्द्र स्पष्टीकरण

त्यसैगरी सचिवालयले छुट्टै सूचना जारी गर्दै पूर्व युवराज्ञी हिमानी शाहले पनि कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगर्ने जनाइएको छ । निराधार भ्रम फैलाएर मर्यादामा आँच आउने काम नगरिदिन सचिवालयको अनुरोध गरेको छ ।

जारी गरिएको अर्को सूचनामा भनिएको छ, ‘श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’

हिमानी स्पष्टीकरण

केही दिनअघि सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा पराजित भएपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा शाह र पूर्व युवराज्ञी हमानीमाथि आक्रोश पोखेका थिए ।

राप्रपाको निर्वाचनमा दरबारले हस्तक्षेप गरेको भन्दै पूर्वअध्यक्ष कमला थापाले लगातार सामाजिक सञ्जालमार्फत आलोचना गर्दै आइरहेका बेला पूर्वराजा सचिवालयले यस्तो सूचना जारी गरेको हो ।

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि हिमानीको फेक ट्वीटर अकाउण्टबाट दिइएको शुभकामनामा टिप्पणी गर्दै थापाले अब ‘राजसंस्था चाँडै पुःस्थापना हुन्छ शुभकामना’ भनेका थिए । यस्तै थापाले पूर्वराजाले आफूलाई अध्यक्षमा पराजित गराएको आरोप लगाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !