१९ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु


कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु हुँदैछ । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा महाधिवेशनको दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको हो ।

आज २४ देखि २७ मंसीरसम्म हुने महाधिवेशनका कार्यक्रम पनि तय गरिएका छन् । ४ दिनसम्म करिब ५००० कांग्रेसका महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन् ।

उद्घाटन भएपछि भृकुटीमण्डपको हलमा बन्दसत्र हुनेछ । बन्दसत्रपछि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा चुनावी कार्यक्रम हुने जनाइएको छ । महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ ।

राष्ट्रिय सभागृहमा कांग्रेसले मतदान गर्न २०० बुथ राख्न राख्ने भएको छ । महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्नेछ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा कांग्रेसले १५० भन्दा बढीलाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको छ । १५० जना बस्ने र ४० जना नाच्ने मञ्च बनेको छ । विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने बनाइएको छ ।

रातिका समयमा पनि कार्यक्रम गर्न सकिने गरी बत्तीको व्यवस्था गरिएको छ । इन्टरनेटको सहजताका लागि महाधिवेशनस्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायताकक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ ।

महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका ठमेल, सुन्धारा र गौशलामा गरी तीन ठाउँमा होटल बुकिङ गरिएको छ । त्यहाँ हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ ।

समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धराको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिएको । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !