१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित, महाधिवेशनपछि मात्र गरिने


कांग्रेस महाधिवेशन

वीरगञ्ज । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

जनकपुरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिए ।

प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उनले बताए । प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुननसकेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन ।

निर्वाचन हुन बाँकी जिल्लाका प्रदेश अधिवेशनमार्फत छनौट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने नेता कार्यकर्ताको माग छ ।

प्रदेश २ को सभापतिका लागि रौतहटकी कृष्णा यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !