१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा प्रदेश नेतृत्वका लागि आकांशी धेरै


कांग्रेस महाधिवेशन

महेन्द्रनगर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उनी बुधबार धनगढी आइपुगेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद, बद्री पाण्डे र वीरबहादुर बलायर लगायत नेता नेतृत्वका लागि उम्मेदवार छान्न सक्रिय छन् । कांग्रेसको नेतृत्वका लागि पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्वसभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा, भरत खड्का र युवा नेता पुष्प शाही आकांशी देखिएका छन् ।

प्रदेश सभापतिसँगै अन्य पदका उम्मेदवारले जिल्ला-जिल्लाबाट आएका प्रतिनिधिलाई मत माग्नाका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरेर आफ्नो पक्षमा मतदानका निम्ती आग्रह गरिरहेका छन् । प्रदेशसभाको निर्वाचन तालिका अनुसार शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने भनिएको छ ।

सुदूरपश्चिममा १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट गरी ९७५ प्रतिनिधि छनोट भएका छन् । कैलाली र अछामबाहेक सात जिल्लाको कांग्रेसको जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !