१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई छोडेर ओलीतिर लागेका पूर्वमाओवादीले एमालेमा पाउने भए ठुलै भाग


केपी ओली, बादल र लेखराज भट्ट

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लागेका पूर्वमाओवादी नेताहरुले एमालेमा ठुलै भाग पाउने भएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रचण्डको साथ छोडेर एमालेका आएका पूर्वमाओवादीलाई काखा च्याप्ने र माधव नेपालको साथ छोडेर एमालेमै रहेका १० नेताहरुलाई पाखा लगाउने रणनीति अपनाएको देखिन्छ ।

एमाले महाधिवेशनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी रहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष ओलीलाई भेटेका थिए । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता सकिएको बुझिएको छ ।

पूर्वमाओवादीवाट एमालेमा आएकाहरुलाई २ पदाधिकारी, २ जना नेतालाई स्थायी कमिटी सदस्य र ४० केन्द्रीय सदस्य दिन ओली तयार रहेको बुझिएको छ । जसअनुसार रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष र टोप बहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव पद दिन ओली तयार भएको बुझिएको छ ।

एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरणलाई तीव्रता दिएका हुन् ।

चितवनको पर्यटकीय नगरी सौराहामा जारी एमालेको महाधिवेशनको बन्दसत्रको दोस्रो दिनमा रावलले आफ्नो प्रचारप्रसार तीव्रलाई तीव्रता दिएसंगै केपी शर्मा ओलीलाई सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन गर्नमा सकस देखिएको छ ।

एमाले अध्यक्ष ओलीले एकलौटी रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहेका बेला रावलले प्रचारप्रसार तीव्रता दिएका हुन् । रावलले आफूले उम्मेद्वारी दिनुपर्ने कारणसहित लेखिएका प्रचार सामग्री वितरण गरिरहेका छन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले चुनावी प्रचार शुरु गरेका हुन् । एमालेको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार रावलले प्रचार शुरु गरेका हुन् ।

वर्तमान अध्यक्ष ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफल जारी राखेका छन् । तर वर्तमान उपाध्यक्ष समेत रहेका रावलले अध्यक्ष पदका लागि मत माग्न शुरु गरेपछि एमालेमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !