७ बैशाख २०८१, शुक्रबार

एमाले महाधिवेशन आजबाट शुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने


केपी ओली चितवनमा

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा आजवाट शुरु हुँदैछ । एमालेको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेको महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनार नारायणगढमा हुन लागेको हो भने बन्द सत्र सौराहामा हुनेछ । भव्य तयारी सकिएको महाधिवेशन नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगरी सौरहामा बन्दसत्र हुनेछ ।

नेकपा एमालले ५ लाख भन्दा बढी कार्यकर्ता चितवन उतार्ने बताएको छ । महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली लगायत अधिकांश नेता कार्यकर्ता चितवन आइपुगेका छन् । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ ।

आज मंसिर १० गतेदेखि १२ गतेसम्म गरी ३ दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । एमालेका नेता तथा कार्यकर्ताहरू चितवन पुग्ने क्रम बढेसँगै चहलपहल देखिएको छ ।

एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन् । अध्यक्ष केपी शर्मा ओलीका ठूला फोटा सडक किनारमा राखिएका छन् । एमालेको झन्डासमेत बिजुलीका पोलहरूमा राखिएको छ । भरतपुर, टिकौली लगायत क्षेत्रमा एमालेले पार्टीको झन्डा राखेको छ भने नेताका फोटासमेत राखिएका छन् ।

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । प्रतिनिधिमध्ये ५ प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिलाको रहेका छन् ।

कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ थियो । महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् । उद्घाटन सत्रका दिन ५ हजार स्वयंसेवक परिचालन हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया लगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको बताइएको छ ।

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउनेछ ।

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

उद्घाटन सत्रका दिन यात्रुवाहक सवारी साधन रोक्ने काम पार्टीका तर्फबाट नहुने उनले स्पष्ट पारे । नेपालका राजनीतिक दलहरुको इतिहासमा नेकपा एमालेले तय गरेको सबैभन्दा उन्नत र समृद्ध कार्यदिशा भएको उनको दावी थियो ।

महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उनले बताए । यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढङ्गले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने सङ्कल्प गरेर फर्कने उनको भनाइ थियो ।

एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरुलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले बताए ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनमा स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

चितवन यात्रा : ओली पुगे उडेर, रावल गए गुडेर

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !