१२ बैशाख २०८१, बुधबार

चितवन यात्रा : ओली पुगे उडेर, रावल गए गुडेर

चितवन ओली पुगे जहाजमा, रावल गए गाडीमा


चितवन यात्रा : ओली पुगे उडेर, रावल गए गुडेर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशनले गर्दा अहिले चितवनको माहोल तातेको छ । महाधिवेशनमा भाग लिन वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल आज चितवन पुगेका छन् ।

एमाले अध्यक्ष पदका प्रत्यासी ओली र रावलको चितवन यात्रा भने फरक देखिएको छ । ओली हवाई मार्ग भएर चितवन पुगेका छन् भने रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन् ।

उनलाई एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । अध्यक्ष ओली तामझामका साथ सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन पुगेका छन् ।

ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन पुगेका हुन् । तर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न महाधिवेशन स्थल चितवनको सौराहा गाडीमा पुगेका हुन् ।

रावल बिहीबार अपराह्न चितवनको सौराहा पुग्दा उनलाई एमालेका वर्तमान सचिव योगेश भट्टराई लगायतले स्वागत गरेका छन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी रहेको छ ।

नेकपा एमालले ५ लाख भन्दा बढी कार्यकर्ता चितवन उतार्ने बताएको छ । महाधिवेशनमा सहभागी हुन अधिकांश नेता कार्यकर्ता चितवन पुगिसकेका छन् । नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहमा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन् ।

एमालेका नेता तथा कार्यकर्ताहरू चितवन पुग्ने क्रम बढेसँगै चहलपहल देखिएको छ । एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन् । अध्यक्ष केपी शर्मा ओलीका ठूला फोटा सडक किनारमा राखिएका छन् । एमालेको झन्डासमेत बिजुलीका पोलहरूमा राखिएको छ । भरतपुर, टिकौली लगायत क्षेत्रमा एमालेले पार्टीको झन्डा राखेको छ भने नेताका फोटासमेत राखिएका छन् ।

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । प्रतिनिधिमध्ये ५ प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिलाको रहेका छन् ।

कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ थियो । महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् । उद्घाटन सत्रका दिन ५ हजार स्वयंसेवक परिचालन हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया लगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !