१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित


नेपाली कांग्रेस

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ उम्मेदवार थिए ।

सभापति बोहराले २४४ मत प्राप्त गरे । यस्तै पूर्व सांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनले १९० मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।

यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुल्लातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा थिए ।

क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गरेका हुन् । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गरे । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित भए ।

यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित भएका थिए । चन्दले ३३० तथा उनका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गरेका थिए । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सह–सचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !