१४ बैशाख २०८१, शुक्रबार

एमालेको महाधिवेशनमा पूर्वबाट आउने गाडी भरतपुर र पश्चिमबाट आउने गैँडाकोटमै रोक्ने


भरतपुर चितवन

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को महाधिवेशनमा पूर्वबाट आउने गाडी भरतपुर र पश्चिमबाट आउने गाडी गैँडाकोटमै रोक्ने तयारी गरिएको छ । नारागणगढको नारायणी किनारमा पर्सि एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा ५ लाख मानिस उतार्ने एमालेको दाबी गरेको छ ।

तर काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने भएकोले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न तयारी शुरु गरिएको छ ।

पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ । मुग्लिन हुँदै काठमाण्डौ, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिने छन् ।

महाधिवेशनका लागि सहभागीहरु दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने हुन्छ । उद्घाटनस्थलसम्म जान नपाउनेका लागि ठाउँ-ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने छ ।

यस्तै, महाधिवेशनको उद्घाटनको दिन पर्सि बजार क्षेत्रमा अत्यावश्यक सेवाका गाडी पनि सञ्चालन गर्न कठिनाई हुने अनुमान गरिएको छ । अत्यावश्यक सेवाका गाडीलाई कसरी पास गराउने भन्ने बारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !