१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका दुई टेलिभिजनमाथि छानबिन शुरु


शेरबहादुर देउवा, रामदेव र प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको दुई टेलिभिजनमाथि छानबिन शुरु गरिएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार यी दुई टेलिभिजनको उद्घाटन गर्दै पतञ्जलिलाई जग्गा उपलब्ध गराउने समेत बताएका थिए ।

सूचना तथा प्रसारण विभागले पतञ्जली आयुर्वेद नेपालमा प्रसारणको तयारी थालेको आस्था नेपाल टिभी र पतञ्जली नेपाल टिभीमाथि छानबिन अघि बढाएको हो ।

विभागले आज आइतबार ती दुबैको कार्यालय रहेको मण्डिखाटारस्थित पतञ्जली नेपालमा टोली पठाएको हो । टेलिभिजन कार्यालयको हालको वस्तुस्थिति बुझ्न गएको आयोगको टोलीले भोलि प्रतिवेदन दिने बुझिएको छ ।

दुबै टिभी कानुनी रूपमा अनुमतिको प्रक्रियामै नगइकन शुक्रबार मात्र उद्घाटन गरिएको थियो । अनुमति नपाएका टिभी च्यानल उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सरकारका वरिष्ठ मन्त्री र दलका शीर्ष नेताहरू पुगेका थिए ।

वैदेशिक लगानीमा सञ्चालन हुन लागेको भए यी दुवै टेलिभिजनलाई मान्यता दिन नसकिने बिभाग स्रोतले बताएको छ । पतञ्जली आयुर्वेद हरिद्वारका लगानीकर्ता तथा योगगुरू रामदेव र पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्ण टिभी उद्घाटन गर्न आएका थिए ।

काठमाडौँमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका थिए ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गरिएको पतञ्जली योगपीठ नेपालले जनाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड भन्छन्- रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेछन्

प्रधानमन्त्री देउवाले भने- सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ

प्रधानमन्त्री देउवाले गरे रामदेवका दुई वटा टेलिभिजनको उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !