११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवाले गरे रामदेवका दुई वटा टेलिभिजनको उद्घाटन


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यात्म सम्बन्धी २ वटा टेलिभिजन च्यानलको आज शुक्रबार उद्घाटन गरेका छन् । काठमाडौँको मण्डिकाटारस्थित पतञ्जलि सेवा सदनमा आयोजित कार्यक्रमबीच ‘आस्था नेपाल टीभी’ र ‘पतञ्जलि नेपाल टीभी’ को उद्घाटन गरिएको हो ।

यस्तै रामदेवले पतञ्जलिका कर्मचारीका लागि बनाइएको आवास ‘पतञ्जलि सेवा सदन’ सँगै ‘स्वदेशी समृद्धि कार्ड’ को पनि उद्घाटन गरेका छन् । यसका साथै योग गुरू रामदेवको अग्रसरतामा भएको कार्यक्रममा पतञ्जलिका सानाठूला परियोजनाको उद्घाटनसमेत गरिएको थियो।

उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्र मन्त्री नारायण खड्का, पर्यटन मन्त्री प्रेमकुमार आले लगायत वरिष्ठ नेता तथा मन्त्रीहरूको सहभागिता रहेको थियो ।

रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण हिजो काठमाडौं आइपुगेका थिए । रामदेवको पतञ्जली योगपीठ नेपालले ‘पतञ्जली नेपाल टिभी’ र ‘आस्था नेपाल टिभी’ सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।

काठमाडौँमा हिजो ओर्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका थिए ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गरिएको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !