१० कार्तिक २०८१, शनिबार

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल


सर्वोच्च परिसर तनावग्रस्त

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीवीच झडप हुँदा गम्भीर घाइते भएका वकिललाई अस्पताल पठाइएको छ ।

सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको हो ।

प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित १२ जना वकिलहरू घाइते भएकामध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको जनाइएको छ ।

सर्वोच्च परिसरमा अहिले कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेकोले उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको हो ।

बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् । झडपका क्रममा श्रेष्ठलाई प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको उनले बताए ।

यस्तै प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको छ । आज बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो ।

यो पनि पढ्नुहोस्

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !