२० बैशाख २०८१, बिहिबार

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’: मुख्यमन्त्री शाही


महेन्द्रबहादुर शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गर्नुभयो ।

जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाउनुभयो । उहाँले भन्नुभयो,“आजदेखि गणकहरु तपाईहरुको पूर्ण विवरण लिन घर–घरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईहरुलाई सोधिने व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ ।”

मुलुक सङ्घीयता गएपछि पहिलो पटक आगामी मङ्सिर ९ गतेसम्म आयोजना हुने जनगणनामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाउनुभयो । जनगणना अधिकारी पौडेलले बढी बसोबास गर्ने ठाउँबाट घरमूलीमार्फत पूर्ण विवरण लिइने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !