११ बैशाख २०८१, मंगलबार

प्रदेश १ मा मन्त्रीको नाम टुंगो लाग्यो, यी हुन् बन्न लागेका नयाँ मन्त्रीहरु


बिराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज मंगलबार राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईको आजै मंगलबार अपरान्ह शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ । नवनियुक्त मुख्यमन्त्री राईले आज मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश १ मा आजै मुख्यमन्त्रीसहित ४ जना मन्त्रीहरु र १ जना राज्यमन्त्री नियुक्त गरेर जम्मा ६ जनाले शपथग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री राईको शपथसँगै अन्य मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिनेछन् ।

गठबन्धनका तर्फबाट काँग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना, जसपाबाट १ जना मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चवाट १ जना राज्यमन्त्रीसहित मुख्यमन्त्री राईले शपथग्रहण गर्ने भएका हुन् ।

काँग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले भागमा पाएको छ । माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय पाएको छ भने जसपाले सामाजिक विकास मन्त्रालय पाएको छ । यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले सामाजिक विकास राज्य मन्त्रालय पाएको छ ।

काँग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री बन्ने टुंगो लागेको छ । यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।

प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल बन्दै, यी हुन् सम्भावित नयाँ मन्त्रीहरु ?

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण ३ बजे

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !