८ पुस २०८१, सोमबार

प्रदेश १ मा राजेन्द्र राईले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

विपक्षी गठबन्धनवीच नेकपा (एस) का राईलाई नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति जुटेको छ । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ मा राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

भीम आचार्यले आजै प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा घोषणा गरेका छन् । आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा नयाँ सरकार गठनको लागि बाटो खुलेको हो ।

नयाँ मुख्यमन्त्रीका दाबेदार राईले ५० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने भएका छन् । तर सोअघि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रदेश सभामा आह्वान गर्नुपर्ने छ ।

९२ सदस्य रहेको प्रदेशसभामा वहुमतको लागि ४७ जना सांसद चाहिन्छ । एमालेसँग ४१ जना सांसद रहेका छन् । प्रदेश १ मा विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१ जना, माओवादी केन्द्रसँग १५ जना, नेकपा एकीकृत समाजवादीसँग १० जना, जसपासँग ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १ जना सांसद रहेका छन् । १ जना मात्र सांसद रहेको राप्रपाले अहिलेसम्म कुनै कित्ता क्लियर गरिसकेको छैन ।

राईले तिहार अगाडि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !