११ बैशाख २०८१, मंगलबार

प्रचण्डको खेदो खन्दै आएका प्रभु साह पुरानै घर माओवादीमा फर्किने !


प्रचण्ड र प्रभु साह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खेदो खन्दै आएका प्रभु साह पुरानै घर माओवादीमा फर्किने भित्रभित्रै तयारी गरिरहेका छन् ।

विगतमा प्रचण्डको चर्को आलोचना गर्दै आएका साहले ‘प्रचण्डमुक्त’ देश बनाउने घोषणा समेत गर्न भ्याएका थिए । माओवादी केन्द्रले उनीसहित माओवादी छोडेर नेकपा एमालेमा लागेका तत्कालिन ४ जना मन्त्रीलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएपछि उनी धेरै आक्रोशित भएका थिए ।

साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेपछि कारबाहीमा परेका तत्कालिन शहरी विकासमन्त्री रहेका साहले सामाजिक संजाल फेसबुक पेजमा लेख्दै निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका थिए ।

उनले प्रचण्डले आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता, सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिई राख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले नसुहाउने बताएका थिए ।

उनले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि उदांगो भएको टिप्पणी समेत गरेका थिए ।

माओवादी त्यागेर एमालेका रहेका साह अध्यक्ष केपी शर्मा ओली वीचको सम्बन्ध चिसिदै आएको थियो । सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा ओलीसँग साहको मतभेद बढेको थियो ।

स्रोतका अनुसार प्रभु साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएनन् ।

केही समय अघिदेखि पूर्वमन्त्री साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेको जस्ता समाचारहरु बाहिर आएका थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए ।

नेकपामा विवादपछि उनी तत्कालीन ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्री समेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उनी क्रान्तिकारीहरूको ध्रुवीकरणमा लागेका थिए ।

नेकपा विघटन भएदेखि नै पूर्वमन्त्री साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताका रूपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वका रूपमा स्वीकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता माग राखेर यथास्थितिमा एमाले स्वीकार्न नसक्ने स्पष्ट पारिसकेका छन् ।

तर, अध्यक्ष ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै पूर्वमन्त्री साह क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्न नयाँ दल दर्ताको अभियानमा जुटेका थिए । हाल उनी एमालेमा पनि सक्रिय छैनन् ।

तीनै साहले अहिले पुनः माओवादी केन्द्रमै फर्किने सुरसार गर्दै माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको बुझिएको छ । पछिल्लो समय उनी माओवादी केन्द्रमै फर्किने सोचका साथ सो पार्टीका नेताहरुको सम्पर्कमा पुगेको बताइएको छ ।

प्रभु साहले ‘आइटी आर्मी’ नामक संगठन बनाएका छन् । सोही संगठनमार्फत उनी राजनीतिक गतिविधि गर्नुका साथै शक्ति प्रदर्शन गरिरहेका छन् । प्रभु साहका साथमा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरु विस्तारै माओवादी केन्द्रमा फर्किन थालेका छन् । त्यसैले पनि प्रभु साहमाथि माओवादी केन्द्रमै फर्कने दबाब बढेको स्रोत बताउँछ ।

यसरी हिजोसम्म प्रचण्डको कटू आलोचक साह आज किन एकाएक माओवादीमै फर्किन खोजे ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रचण्डको सम्बन्धमा कसरी समधुर हुदैछ फेरि ? नेपाली राजनीतिक यस्ता यूवा नेताहरुमा नैतिकताको कुनै मूल्य हुँदैन । जे होस् नेपालका राजनीतिक दललाई त्यसका नेताहरुले बेइज्वत गर्दै आएका छन् भने नेताहरुप्रति जनताको बितृष्णा दिन-प्रतिदिन बढ्दो छ ।

यो पनि पढ्नुहोस्

एमाले छोड्दै प्रभु साह, नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा

एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

सांसदबाट पदमुक्त गरेपछि प्रचण्डसँग प्रभु साह भए यत्तिसम्म आक्रोशित

माओवादी छोडेर एमालेमा लागेका ४ मन्त्रीको सांसद पद च्वाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !