१२ बैशाख २०८१, बुधबार

उद्योगमन्त्रीमा सुजाता कोइराला की उमेश श्रेष्ठ ?

उद्योगमन्त्रीमा सुजाता कोइराला र उमेश श्रेष्ठको चर्चा


सुजाता कोइराला र उमेश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराका जेठान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्री देउवाले पनि मन्त्री हमालको राजीनामा स्वीकृत गरिसकेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेको र सोही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा दिएका हुन् ।

हमालले मन्त्रीबाट राजीनामा दिएसँगै अब उक्त मन्त्रालयको जिम्मा कसले पाउँछ ? भनेर चर्चा-परिचर्चा शुरु भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उद्योग मन्त्रालयमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका पूर्वस्वास्थ्यमन्त्री उमेश श्रेष्ठलाई पठाउने तयारी गरेका छन् ।

पछिल्लो समय रामचन्द्र पौडेलले समूहले मन्त्री बनाउने भनेर चर्चा रहेकी तर मन्त्री नबनाइएकी नेतृ सुजाता कोइरालाको पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ । सुजाताले पौडेल र शशांक कोइरालाको गुट छोडेको घोषणा गरिसकेकी छिन् ।

कांग्रेसकी नेतृ सुजाताले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाको साथ छोडेको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएकै दिन सुजाताले पौडेल र कोइरालाले कांग्रेस चलाउन नसक्ने बताएकी थिइन् ।यसअघि पनि सुजाता कोइरालाले पनि मन्त्रीमा दाबी गरेपछि पौडेल पक्ष अप्ठेरोमा परेको थियो ।

आफूलाई मन्त्रिपरिषद्‍मा सहभागी नगराउने कुरा ३ महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् । अब कसलाई साथ दिने त ? भन्ने जिज्ञासामा उनले पार्टीभित्र सबैसँग छलफल गरेर निर्णय लिने बताएकी थिइन् ।

यद्धपी उनले आफू सभापति देउवाको पक्षमा उभिएको भनेर सार्वजनिक रुपमा भनिसकेकी छैनन् । तर आगामी १४औं महाधिवेशनलाई लक्षित गरेर देउवाले सुजातासँग समीकरण बनाउन सक्ने अनुमान भने भएको छ ।

उता पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठले राम्रो काम गरेको भनेर कांग्रेसकै केही नेताहरु भने श्रेष्ठलाई उद्योगमन्त्री बनाउनुपर्नेमा लविङ गरिरहेका छन् । प्रधानमन्त्री देउवाले कसलाई मन्त्री बनाउँछन् ? त्यो हेर्न त बाँकी छ । तर देउवाले सुजाता र उमेशमध्ये एकलाई नै मन्त्री बनाउन सक्ने कांग्रेसनिकट स्रोतको दाबी छ ।

विभिन्न सञ्चार माध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गर्नुभएको स्वकीय सचिव जोशीले बताए । आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको वोध भएको पत्रमा उल्लेख छ ।

आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएको जनाएका छन् ।

यो पनि पढ्नुहोस्

उद्योगमन्त्री हमालको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत

अन्तत: चोलेन्द्रका जेठान उद्योगमन्त्री गजेन्द्रले बुझाए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !