१२ बैशाख २०८१, बुधबार

उद्योगमन्त्री हमालको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत


गजेन्द्रबहादुर हमाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेको र सोही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

विभिन्न सञ्चार माध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गर्नुभएको स्वकीय सचिव जोशीले बताए । आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको वोध भएको पत्रमा उल्लेख छ ।

आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएको जनाएका छन् । हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील थिए । उनले विसं २०२७ देखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !