१४ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनका दलहरुले यसरी गरे मन्त्रालय भागबण्डाको सहमति


सत्ता गठबन्धन

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: सत्ता गठबन्धन मन्त्रालयको भागबण्डा मिलेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले ३ महिना पुग्न १ दिन बाँकी रहँदा (८९ दिनपछि) भोलि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएपछि भोलि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर सपथग्रहण समेत गराउन लागेका हुन् ।

आजै मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताको बसेको बैठकले दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै आज बिहीबार मन्त्रिपरिषद् विस्तार नहुने भएको थियो । यसरी गठबन्धनका दलहरूवीच भोलि शुक्रबार मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनमा सहमति भएको हो ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । गठबन्धनका शीर्ष नेताहरुवीच कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति भएको हो ।

आज विहीबार भएको सहमति अनुसार दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा भोलि शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ भने ४ बजे शपथ गराउने गरी तयारी गरिएको छ ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको सत्ता गठबन्धनको दल नेकपा एकिकृत समाजवादीले २ राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति जुटेको छ । एकिकृत समाजवादीले स्वास्थ्य मन्त्रालयसहित शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय गरी ४ वटा मन्त्रालय पाएको छ ।

यस्तै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय , महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ । स्वास्थ्य मन्त्रालय छाडेको कांग्रेसले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको छ भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने भएको छ ।जसपाले भने आफ्नो पार्टीवाट बन्ने मन्त्रीहरु भने अझसम्म पनि छान्न सकेको छैन ।

कार्यकारिणी समितिबाट मन्त्री छान्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बिहीबार आकांक्षीहरुसँग छलफल गरेतापनि कस-कसलाई मन्त्री बनाउने भन्ने नाम टुंगो लगाउन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !