१ मंसिर २०८१, शनिबार

माओवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्री छान्ने


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । आज बुधबार दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्न लागेको माओवादीको स्थायी समिति बैठकले देउवा सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम टुंगो लगाउने बुझिएको छ ।

माओवादीको हिजो मंगलबार बस्ने गरी तय गरिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको थियो । हिजो बस्ने भनिएको बैठकमा यसअघि पेश गरिएका ३ वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची समेत रहेको थियो ।

माओवादी केन्द्रको हिजो दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण आज बुधबार १२ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

यस अघि नै पार्टीबाट मन्त्री हुनेको नाम टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाइसकेका थिए । अध्यक्ष प्रचण्डले मन्त्री छानिसकेको र सोही नामलाई आजको बैठकले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।

अव बन्न लागेका थप नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रले अझसम्म मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् भने बाँकी ३ जना मन्त्री र १ जना राज्य मन्त्रीको नामावली टुंगो लगाउँने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रचण्डनिकट स्रोतका अनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेलले मन्त्री बन्ने निश्चित भएको छ । देव गुरुङ, अमनलाल मोदी र सन्तकुमार चौधरीमध्ये १ जनालाई मन्त्री बनाउँन अध्यक्ष प्रचण्डलाई दवाव रहेको छ ।

यसैगरी महेश्वर गहतराज, सुदन किरातीमध्ये एक जना मन्त्री हुनसक्ने बताइएको छ । यसैगरी महिलाबाट अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये १ जना राज्य मन्त्री हुने सम्भावना रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

यी हुन् माओवादी केन्द्रवाट मन्त्री बन्न लागेका सांसदहरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक किन एकाएक स्थगित भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !