१५ बैशाख २०८१, शनिबार

सुनसरी पुगेर सरकारका प्रवक्ता कार्कीले भने- एमसीसी जसरी पनि संसदवाट पास गर्नुपर्छ


ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौं । देउवा सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदवाट जसरी भएपनि पास बताएका छन् ।

आज शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका हुन् ।

विकास परियोजनामा राजनीति गर्न नहुनेमा जोड दिंदै उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन । यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसद्बाट पास गराउनुपर्ने बताए । एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उनको भनाइ छ । एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको उनले बताए ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने पनि बताए । संसद्भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !