१३ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाए मन्त्रिपरिषद्को बैठक


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बिहान ११ः४५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सत्तारुढ गठबन्धनका पाँच दलको बिहान ९ बजेदेखि बस्ने बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सत्ता गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसी लगायतका विषयमा निर्णय हुनसक्ने बुझिएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेटघाटलाई तीव्रता दिएकी छन् । एमसीसीका विषयमा निक्र्योल गर्न उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनको निवास खुमलटार पुगेर भेटेकी छन् । यसअघि हिजो नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी पार्टीको संसदीय दलको कार्यालयमा भेटेका थिए भने नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो निवासमै बोलाएर भेटेका थिए ।

यस्तै हिजै उनले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेकी थिइन् । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाका अलावा अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

सरकार बनेको २ महिना पुग्नै लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लेलाई पूर्णता दिन नसकेकोले उनको चौतर्फी आलोचना हुँदै आएको छ ।
यस्तै संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएर खटपट समेत उत्पन्न भएको छ । सत्ता गठबन्धनका काँग्रेस र जसपा संसदवाट एमसीसी जसरी भएपनि पास गर्ने पक्षमा देखिएका छन् भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) विपक्षी देखिएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !