२४ बैशाख २०८१, सोमबार

संसदवाट एमसीसी पारित गर्ने बारेमा सत्तारूढ गठबन्धनका नेताबीच छलफल


सत्ता गठबन्धन

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा विचार विमर्श भएको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको बताइन्छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरुको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले बताए ।

यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !