५ जेष्ठ २०८१, शनिबार

रवीन्द्र मिश्रपछि अर्का वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा पनि पार्टी गठन


रवीन्द्र मिश्र र देव प्रकाश त्रिपाठी

काठमाडौं । वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो ।

सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ । कार्यक्रममा डा. रामप्रसाद उप्रेती, नायक निखिल उप्रेती, गुरु बलभद्र लगायत सहभागी थिए ।

नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्य समितिका पदाधिकारीहरूले भद्रकाली मन्दिर पुगेर मुलुक र जनताप्रति सधैं वफादार रहने भन्दै सपथ लिएका थिए ।

त्रिपाठीले उक्त कार्यक्रममा संक्षिप्त मन्तव्य दिदैं राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै नयाँ शक्ति घोषणा गरिएको त्रिपाठीले जानकारी दिएका थिए ।

उनले जनता, राजसंस्था र राजनीतिक दलहरुबीचको समन्वयकारी राजनीतिक प्रणाली, सवल र सुदृढ राष्ट्रिय सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्ने पार्टीको प्रतिवद्धता रहेको बताएका थिए ।

त्रिपाठीले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने धारणा पनि राखेका थिए । मुलुकमा शान्ति र स्थिरता खोज्ने हो भने सबैको अ्स्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । आफूले बोकेका एजेण्डा देशका लागि भएको र अरुले बोकेका एजेण्डा विदेशीका भएको त्रिपाठीले बताएका थिए ।

नेपाली राजनीतिक दलका शीर्ष नेताहरुको व्यक्तिगत स्वार्थ, सत्ता मोह र पार्टीभित्रको आन्तरिक विवादले दल विभाजन बढ्दै गएको अवस्थामा समाजलाई सूचना दिएर सुसूचित गर्ने राष्ट्रको चौथो अंग पत्रकारितामा सक्रिय संचारकर्मी नै राजनीतिमा हाम फाल्न थालेका छन् ।

पूर्व वरिष्ठ पत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा विवेकशील साझा पार्टी रहेको छ । केही समयअघि मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका थिए ।

‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेपछि विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीमा मतभेद चर्किएपछि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !