६ जेष्ठ २०८१, आइतबार

प्रचण्डको दावी : प्रदेश १ र वाग्मतीमा एमालेको सरकार ढालेर गठबन्धनको बन्ने


प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र वाग्मती प्रदेशमा वर्तमान एमालेको सरकार ढालेर सत्ता गठबन्धनकै सरकार बन्ने दावी गरेका छन् ।

सोमबार सर्लाही समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्च काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन् ।

प्रचण्डले आगोसँग खेलेपछि केपी ओली नेतृत्वको सरकार ढलेको दावी गर्दै अब ओलीको पार्टीका प्रदेश सरकार पनि यसरी नै ढल्ने भन्दै ओलीलाई चुनौति दिएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ओलीले आगोसँग खेलेर गल्ती गरेको वताए ।

उनले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने बताए । संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि उनले स्मरण गरे ।

उनले आफूले पुन:स्थापित संसदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गरे । ‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौं, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको हो,’ उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान् ।’

केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्मका सबै उपलब्धी झण्डै गुमेको उनले बताएका थिए । उनले भने-‘माओवादी बाहेक अरु कसैलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।

ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उनको भनाई थियो । उनले प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिए पनि उनीहरू अझै चलमलाउने प्रयास भइरहेको बताए ।

प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए । प्रचण्डले आज मंगलबार गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने बताए ।

यो पनि पढ्नुहोस्

आगोसँग खेलेपछि ओली सरकार ढल्यो, अब प्रदेशमा पनि त्यही हुन्छ : प्रचण्ड

माओवादी नम्वर १ पार्टी नबन्दासम्म देशमा स्थायित्व र विकास हुँदैन : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !