६ बैशाख २०८१, बिहिबार

आगोसँग खेलेपछि ओली सरकार ढल्यो, अब प्रदेशमा पनि त्यही हुन्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले आगोसँग खेलेपछि केपी ओली नेतृत्वको सरकार ढलेको दावी गर्दै अब ओलीको पार्टीका प्रदेश सरकार पनि यसरी नै ढल्ने भन्दै ओलीलाई चुनौति दिएका छन् ।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ओलीले आगोसँग खेलेर गल्ती गरेको वताए । उनले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने बताए ।

उनले आफूले पुन:स्थापित संसदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गरे । ‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौं, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको हो,’ उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान् ।’

सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आज सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताउदै मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएकोमा जोड दिए । उनले आफ्नो पार्टीले अव मधेश कब्जा गर्ने पनि वताएका छन् ।

‘‘माओवादीले मात्रै मधेशी जनतालाई मुक्ति दिलाउन सक्छ । दलालहरू मधेशको मसिहा बनेर लुट्न खोजेका छन् । उनीहरूबाट सावधान भएर बस्नुस्,’ उनले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरू पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ ।’

माओवादी १ नम्बर पार्टी नभएसम्म देशमा स्थायित्व र विकास नहुने उनको भनाई छ । ‘जबसम्म माओवादी फेरि नम्बर एक पार्टी हुँदैन, तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन। माओवादी बाहेकलाई अरुलाई भोट दिँदा कसैको मुक्ति हुँदैन । दलाल र जाली-फटाहाले मधेसको मसिहा बनेर जनतालाई चुसेको हामीले देखेका छौँ- प्रचण्डले भने ।

केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्मका सबै उपलब्धी झण्डै गुमेको उनले बताए । उनले भने-‘माओवादी बाहेक अरु कसैलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ । मधेस माओवादीमय नभएसम्म मधेसी जनताको मुक्ति सम्भव छैन ।’ प्रचण्डले भने–‘अब हाम्रो पार्टीले मधेसमा कब्जा जमाउने छ । त्यसपछि मात्रै त्यहाँका जनताले अधिकार पाउँछन्।’

केपी ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उनको भनाई थियो । उनले प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिए पनि उनीहरू अझै चलमलाउने प्रयास भइरहेको बताए । ‘प्रतिक्रान्तिकारीहरू पछारिएका छन् । केही दिनपछि एक नम्बर र बागमती प्रदेशमा पनि उनीहरू ढल्नेछन्,’ उनले भने ।

उनले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिए । प्रचण्डले भोलि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !