७ मंसिर २०८१, शुक्रबार

काठमाडौँको फोहर नउठेपछि देउवाले बोलाएर विद्यासुन्दरलाई यसरी थर्काए


शेरबहादुर देउवा, विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी

काठमाडौँ । काठमाडौँ महानगरको फोहर बिगत तीन सातादेखि नउठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएर काठमाडौँ महानगरपालिका विद्यासुन्दर शाक्यलाई बोलाएर थर्काएका छन् ।

प्रधानमन्त्री देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बोलाएर काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए । सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । त्यहि कारण केही दिनदेखि पूर्णरुपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्री देवासँगको छलफलपछि कुराकानी गर्दै शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गर्यौं । उहाँले त्यहिबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

शाक्यले थपे, ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ ।’ उनले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको उल्लेख गर्दै त्यसै अनुसार भेट भएको बताए ।

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालिन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।

‘यस अवस्थामा तत्काल उक्त बञ्चरे डाँडा ल्याण्डफिल्ड साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनुहुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख थियो ।

शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिए । सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइडमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

‘प्रधानमन्त्रीज्यु छिटो फोहोर व्यवस्थापन गर्न सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा फोहोर व्यवस्थापन गर्न सहज हुन्छ ।’

यो पनि पढ्नुहोस्

कांग्रेस निकट युवाहरुले दिए काठमाडौंका मेयर विद्यासुन्दरलाई ‘फोहोर उपहार’

निदायो काठमाडौँ महानगर : घरघरबाट फोहर फाल्न थालेपछि वाग्मती बन्यो डम्पिङ साइट

उपत्यकाको फोहर अझै एक साता नउठ्ने, नागरिकको स्वास्थ्यमा खेलबाड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !