काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
बालुवाटार स्रोतका अनुसार आज आइतबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल केन्द्रित भएको बताएको छ । छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको बुझिएको छ ।
जनता समाजवादी पार्टीका शीर्ष नेताहरु उपत्यका बाहिर भएकोले भोलि सोमबार फेरि छलफल गरेर अन्तिम टुंगो लगाउने सहमति भएको बालुवाटार स्रोतले बतायो । जसपाका नेता उपेन्द्र यादवले बाहिरी जिल्लामा पार्टीको कार्यक्रम रहेकाले १३ गतेसम्म पर्खिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेकाले मन्त्रिपरिषद् विस्तार १४ गतेसम्म लम्बिएको हो ।
सत्ता गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री भएको डेढ महिना भइसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता नसकेको भनेर उनको आलोचना हुँदै आएको छ ।
हालसम्म कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ जना मन्त्री मात्रै छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो । यसअघि नेपालकै कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको थियो ।
सत्ता गठबन्धनका ५ दल दलहरुवीच कसले कति मन्त्रालय पाउने भन्नेबारे छलफल टुंगो लागिसकेको छैन । यद्यपि सत्तारूढ गठबन्धनकै राष्ट्रिय जनमोर्चाले यसअघि नै सरकारमा नजाने भनेर प्रष्ट पारिसकेकोले ४ दल मात्र सरकारमा जाने देखिन्छ ।
नेपाली काँग्रेस र माओवादीवाट यसअघि मन्त्री बनेर सरकारमा सहभागी भईसकेकोले थप यी दुई पार्टीवाट अन्य सांसदलाई मन्त्रिमण्डलमा पठाउनु पर्नेछ भने नेकपा (एकीकृत समाजवादी) र जसपा नेपाल पहिलोपटक देउवा सरकारमा सहभागी हुने तयारी गरेका हुन् ।
साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुंगो लागिसकेको छैन ।