८ जेष्ठ २०८१, मंगलबार

केहि दिनभित्रै पार्टी एकता गर्ने ६ माओवादीको निर्णय


communist-nepal

काठमाडौँ, २९ बैशाख –विभिन्न छ वटा माओवादी घटकले केही दिन भित्रै पार्टी एकता गर्ने निष्कर्ष निकालेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आज भएको संयुक्त छलफलमा माओवादी पार्टीबीचको एकता आजको आवश्यकता भएको निष्कर्ष निकाल्दै एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।

विवाद रहेका विषयलाई टुङ्ग्याउँदै जाने र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर एकताका लागि सबै पक्षले आ–आफ्नोतर्फबाट विशेष पहल गर्ने निष्कर्ष बैठकले निकालेको छ ।

बैठकमा हालसम्म एकताका लागि भएका सबै प्रयासका बारेमा समेत छलफल भएको र अब धेरै दिन नकुरिकन एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने सहमति भएको छ ।

एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार राष्ट्रिय आवश्यकता, सहिद बेपत्ता नागरिक तथा आम जनताको चाहनालाई सम्मान गर्दै एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने मनसायका साथ आजको छलफल भएको हो ।

छलफलमा आज बिहान बसेको एमाओवादी स्थायी समितिले गरेको निर्णय तथा त्यसको भावनाका आधारमा अगाडि बढ्ने जानकारी गराइएको थियो ।

नेकपा(क्रान्तिकारी माओवादी)ले समेत आगामी जेठ २ गते एकताका लागि केन्द्रीय समितिको बैठक बोलाएको, अन्य माओवादी घटकसमेत एकताका लागि अन्तिम तयारी गरेकाले आ–आफ्ना केन्द्रीय समितिमा छलफल गरेर अन्तिम निष्कर्ष निकाल्ने सहमति भएको छ ।
बैठकमा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा सहभागी हुनुहुन्थ्यो भने नेकपा(क्रान्तिकारी माओवादी) महासचिव रामबहादुर थापा, नेकपा(माओवादी)का संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा(माओवादी) नेत्रविक्रम चन्द समूहका केही नेतासमेत बैठकमा सहभागी थिए ।
बैठकले छलफललाई निरन्तरता दिँदै बढीमा १० दिनभित्रै एकता प्रक्रियालाई अन्तिम निष्कर्ष दिने सहमति गरेको छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !