२१ बैशाख २०८१, शुक्रबार

ईश्वर पोखरेलको रुवाबासी : केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भयो


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले विभाजन भएपछि केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको भन्दै रुवाबासी गरेका छन् । नेता माधव कुमार नेपाल एमालेवाट छुट्टिएर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि पोखरेलले यस्तो धारणा सार्वजनिक भएको हो ।

सामाजिक सन्जाल फेसबुकमा हिजो राती अबेर लेख्दै पोखरेलले गौरवशाली पार्टी नेकपा ( एमाले) को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको उल्लेख गरेका छन् ।

उनले नेपालले दल विभाजन गरेर अपराधपूर्ण काम गरेको टिप्पणी समेत गरेका छन् । पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने उनले बताएका छन् ।

उनले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणी समेत गरेका छन् । पार्टीलाई एक ढिक्का बनाउन यस वीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम भएको उनले बताएका छन् ।

पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने काम भएको उनको भनाइ रहेको छ । एमाले पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध रहेको भन्दै दृढताका साथ अघि बढिरहने पोखरेलले बताए ।

‘विनाश काले विपरीत बुद्धि’ भनेझैँ समयमा समयमा बुद्धि नपुर्याउदा यस्तै नियति भोग्नुपर्ने रहेछ । शुरुमै अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाइदिएको भए यस्तो पश्चताप गर्नुपर्ने स्थिति आउदैन थियो की !

यस्तो छ उनले निकालेको विज्ञप्ति

हाम्रो गौरवशाली पार्टी – नेकपा ( एमाले) को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको छ । दु:खका साथ भन्नुपर्दैछ – यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ !! पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसविच पार्टी अध्यक्ष लगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको छ।

यसविच पार्टीभित्रको एकतालाई कायम राख्न पटक पटक अपिल गरिएको छ । माधव नेपाल लगायत केही साथीहरू संग यसविच म आफैले पनि पटक पटक कुराकानी गरेको छु – छलफल गरेकोछु । तर ती सबै निर्रथक बने ! नेकपा (एमाले) का नेता , कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ ।

नेकपा (एमाले) मुलुकमा आर्थिक विकास र सम्वृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता , समाजमा अराकताको अन्त्य आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी हो । भित्री बाहिरी सबै किसिमका प्रतिकूलताहरूसित जुद्धै यसले आफूलाई यिनै उद्देश्यमा अगाडि बढाउँदै आएको छ । यो नेपाली जनताबाट पटक पटक अनुमोदित भएको राजनीतिक पार्टी हो । त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुनेछैन । फुटको विगत हामी सबैले देखेका- भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु । नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध छ , दृढताका साथ अघि बढिरहनेछ !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !