१४ बैशाख २०८१, शुक्रबार

माओवादीको सम्पर्क बाहिर भएकी सांसद विमला वली आइन् दाङका प्रहरीको सम्पर्कमा


बिमला वली फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रले पार्टीको सम्पर्कमा नरहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली) प्रहरीको सम्पर्कमा आएकी छन् ।

आज शनिबार पार्टीको बस्ने भनिएको संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको लुम्बिनी प्रदेश माओवादी स्रोतले बताएको छ ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री रहेको एमालेको सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने माओवादीले आशंका गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ । दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेपछि उनी दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी छन् । एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका छन् ।

विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !