काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गर्दैछ ।
आज सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गर्न लागेको हो । आयोगले जसपा आधिकारिकता विवादबारे आज निर्णय लिने भएको हो ।
सर्वोच्च अदालतले जसपाको महन्थ ठाकुर पक्षले दिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको ठाकुर पक्षले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।
उपेन्द्र यादव पक्षमा कार्यकारिणी समिति सदस्यहरुको बहुमत भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चित जस्तै देखिएको छ । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यमध्ये ३३ जना आफ्नो पक्षमा भएको यादवको दाबी छ ।
हिजो आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । यस्तै सर्वोच्चले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।
सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।