काठमाडौँ । पुन: स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो ।
साउन ३ गते नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए । उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए भने विपक्षका ८३ सांसदहरुले मत दिएका थिए । १ जना सांसदले पक्ष वा विपक्ष दुवैतर्फ मत नदिई मत दिन्न भन्ने पक्षमा तटस्थता देखाएका थिए ।
आज बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने अर्को कार्यसुची रहेको छ । साथै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसुची रहेको छ ।