७ बैशाख २०८१, शुक्रबार

कांग्रेसले अब उपरान्त पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने


नेपाली कांग्रेस बालुवाटार बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अब उपरान्त पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक संजाल ट्वीटरमा लेख्दै पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

खड्काले अब पार्टीका औपचारिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नबस्‍ने जानकारी दिएका हुन् । उनले साउन ८ गते शुक्रबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको जानकारी दिए ।

खड्काले लेखेका छन्, ‘बिगतकाे गलत परम्परालाई ताेड्दै अब देखि नेपाली काँग्रेस पार्टीकाे औपचारिक बैठकहरु प्रधानमन्त्रीकाे सरकारि निवास बालुवाटारमा नगरिने सोही निर्णयकाे कार्यान्वयनकाे प्रारम्भ गर्दै भाेलि साउन ८ गतेकाे पार्टी पदाधिकारि र पूर्ब-पदाधिकारिकाे बैठक, बुढानिलकण्ठमा बस्दै ।’

यसअघि कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न देउवालाई सुझाव समेत दिएका थिए । पार्टी कार्यालयमा धर्ना भएको कारणले बालुवाटारमा राख्नु परेको काँग्रेसको संस्थापन पक्षले प्रष्ट पर्दै आएको थियो ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बेला पार्टीका बैठक बालुवाटारमा राख्ने गरेको परिपाटीलाई निरन्तरता दिंदै प्रधानमन्त्री देउवाले पनि पार्टीको बैठक बालुवाटारमा राख्ने गरेकोले सामाजिक संजाल र संचार माध्ययमा उनको चर्को आलोचना हुँदै आएको थियो ।

https://twitter.com/NCPurnaKhadka/status/1418155463384834049


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !