७ बैशाख २०८१, शुक्रबार

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो ।

हिजो आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

एमाले कार्यालय सचिव समेत रहेका सांसद शेरबहादुर तामाङले ओली समूहका ४ सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने ओली समूहका ४ जना सांसदहरुमा प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढा रहेका छन् ।

देउवालाई विश्वासको मत दिने नेपाल समूहका सांसदहरुमा माधव नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी रहेका छन् ।

यस्तै विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !