२१ कार्तिक २०८१, बुधबार

ओलीले गरेको जस्तो गल्ती नगर्न प्रधानमन्त्री देउवालाई गठबन्धनका नेताको सुझाव


सत्ता पक्षीय गठबन्धनको बैठकमा माधव नेपाल अनुपस्थित

काठमाडौँ । सत्ता पक्षीय पाँच दलीय गठबन्धनको प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको बैठक सकिएको छ । आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज सिंहदरवारमा बोलाएको गठबन्धनको बैठकमा एमालेका बरिष्ठ नेता माधव नेपाल सहभागी भएनन् ।

यद्यपि नेपालले आफ्नो प्रतिनिधिको रुपमा बैठकमा डा. विजय पौडेललाई पठाएका थिए । बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।

सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिदै ओलीको भन्दा राम्रो काम गर्न सुझाव दिएपछि देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार भोलिदेखि मन्त्रिपरिषद् विस्तारबारे तयारी थालिने बताएका छन् । यद्यपि मन्त्रालयको भागबण्डा लगाउने विषयमा आज त्यस्तो गहनतम छलफल नभएकोले अव एक दुई दिनपछि फेरि बैठक बसेर टुंगो लगाउने उनले बताए ।

सत्ता पक्षीय गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा देउवा सरकारमा सहभागी नहुने उक्त पार्टीले निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पनि आजसम्म सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाइसकेको छैन ।

एमालेको ओली समूहसँग असन्तुष्ट माधव नेपाल समूहले देउवा सरकारलाई विश्वासको मत दिने आश्वाशन देउवालाई दिई सकेकोले उक्त समूहका नेताहरु पनि देउबा नेतृत्वको सरकारमा सहभागी हुन सक्ने आंकलन गर्न सकिन्छ ।

यस्ता नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले पनि देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा आज कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेसको आफ्नो गुटवाट बालकृष्ण खाँणलाई गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले पौडेल पक्षवाट मन्त्रीहरुको नामावली छिटो पठाइदिन आग्रह गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !