१२ बैशाख २०८१, बुधबार

बालकोटमा ओलीनिकट भातृ संगठनको नारा- माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे !


बालकोटमा ओलीनिकट भातृ संगठनको नारा

काठमाडौँ । झन्डै ४१ महिनापछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । ओलीले आफ्नो निजी निवास बालकोट पुगेका छन् ।

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै ल्याएका छन् । सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याएका हुन् ।

ओलीलाई बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याएका छन्।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो । ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन् । हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन् ।

बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गरेका थिए।

उनीहरूले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए। अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले आज बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !