२२ बैशाख २०८१, शनिबार

यी हुन् नेपाली कांग्रेसबाट मन्त्री हुने सम्भावित अनुहारहरु


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने भएपछि पार्टीवाट बन्ने मन्त्री छान्न देउवा आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै हिजो साँझ कोटेश्वरमा बसेको गठबन्धनको बैठकले संयुक्त सरकार बनाउने र सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेपछि देउवा आन्तरिक परामर्शमा व्यस्त भएका हुन् ।

सभापति देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त भएका हुन् । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार आज बन्ने सरकारलाई सबै दललाई समेटेर सर्वदलीय स्वरुप दिन प्रयत्नरत रहने उनले बताएका थिए ।

काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँण लगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहान महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाल लगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए ।

देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड लागेको छ । कांग्रेसका तर्फबाट पहिलो चरणमा दुईजना मन्त्री पठाउने तयारी भएपनि नामको टुंगो लागिसकेको छैन ।

बुढानीलकण्ठ निकट स्रोतका अनुसार देउवाले माओवादी र कांग्रेसका २/२ जनालाई आज बन्ने सानो आकारको मन्त्रिमण्डलमा समेट्ने बुझिएको छ । साथै जसपा र राष्ट्रिय जनमोर्चा तयार भए यी दुवै दलका थप १/१ जना पनि मन्त्रिमण्डलमा समेटिनेछन् ।

कांग्रेसभित्र आजै मन्त्रिमण्डलमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम विशेष चर्चामा रहेको छ । कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ ।

राष्ट्रपति कार्यालय विशेष स्रोतका अनुसार हिजो सोमबार अपरान्ह सर्वोच्चको फैसला राष्ट्रपति कार्यालयमा आइपुगेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् । देउवाले आफ्नो प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताएका छन् ।

राष्ट्रपति कार्यालयको तयारीबारे जानकारी पाएपछि देउवाले आज मंगलबारै सानो मन्त्रिपरिषद् बनाउने र गठबन्धनलाई अघि बढाउने योजनाबारे छलफल गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो मन्त्रिपरिषद् बन्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु