१४ बैशाख २०८१, शुक्रबार

बरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानन्यायाधीशको प्रश्न- यो त इजलासलाई जिस्काए जस्तो भएन ?


चोलेन्द्र शमसेर जबरा र सविता भण्डारी

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको मुद्दामा सुनुवाइ भइरहेका बेला देउवापक्षीय वकिलहरूको समय विभाजनप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गम्भीर प्रश्न उठाएका छन् ।

उनीहरुले बहसका लागि पाएका १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट बाँकी रहँदा सबै वकिलको दलीय आधारमा भागबण्डा पुर्याउन ३ मिनेटसम्मको समय बाँडफाँड गरेर इजलासमा पठाइएको छ भने बरिष्ठ अधिवक्ता सविता भण्डारीलाई मात्र ५ मिनेटको समय व्यबस्था गरिएको थियो ।

बरिष्ठ अधिवक्ता सविता भण्डारीलाई मात्र ५ मिनेटको समय दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासलाई जिस्काए जस्तो भएन र भनेर प्रश्न गरेका छन् । आइतवार संवैधानिक इजलासमा सुनुवाइका क्रममा पहिलो पटक महिला अधिवक्ता उभिएकी थिइन् ।

‘३/५ मिनेट बहस गरेर के हुन्छ ? यो त जिस्काए जस्तो भयो । बहसमा उभिएर जाने हो र ? यति समयमा के बहस गर्नुहुन्छ ?’ प्रधानन्यायाधीश जबराले बरिष्ठ अधिवक्ता भण्डारीलाई सोधे । जवाफमा भण्डारीले रिट निवेदकलाई बहसका लागि समय तोकेर दिइएको र आफूले त्यति नै समय पाएको बताइन् ।

यसअघि बुधवार बरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वाधिक ९६ मिनेटको समय पाएका थिए । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा आज आइतबार रिट निवेदक पक्षबाट बहस आज सकिदैछ ।

निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !