९ जेष्ठ २०८१, बुधबार

फोरम लोकतान्त्रिकमा गच्छदार सर्वसम्मत निर्वाचित


Bijay Gachhadar Bijay Gachhadar

विराटनगरः मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिकको अध्यक्षमा विजयकुमार गच्छदार सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको विराटनगरमा जारी प्रथम केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका गच्छदारको प्रतिस्पर्धीका रुपमा कसैको पनि उम्मेदवारी दिएनन् ।
अध्यक्ष गच्छदारको प्रस्तावको रुपमा भारनेन्द्र कुमार मल्लिक, उमा शंकर अरगरिया, गोविन्द बहादुर थापा ,सुभाषचन्द्र गिरी तथा डा. वाबुराम पोखरेल रहेका थिए ।

यसैगरी उनको समर्थकमा जोखाप्रसाद चौधरी, रुद्रकुमार श्रेष्ठ, भक्तिनाथ माझी, प्रदिप चौधरी र महेश दत्त रहेका थिए । केन्द्रीय सदस्य पदका लागि भने ९७ जनाको उम्मेदवारी परेको छ । निर्वाचित र अध्यक्षले मनोनयन गने केन्द्रीय सदस्यबीचबाटै पदाधिकारी चयन हुनेछन् ।

५ वर्षको कार्यकालका लागि चयन हुने केन्द्रीय कमिटी विगतमा एक सय २५ जनाको रहेको थियो भने महाधिवेशनले पार्टीको विधान पारित गरेर ९७ जनाको बनाउने निर्णय गरिएको हो ।
महाधिवेशन निर्वाचन समितिका प्रवक्ता सुनिलरञ्जन सिंहले खुलातर्फका २१ पदका लागि ४७ जनाको उम्मेदवारी परेको जानकारी दिए । यसैगरी आरक्षित तथा समावेशीतर्फको २१ पदका लागि ५० जनाको उम्मेदवारी परेको छ ।

मधेशीमा ५, महिलामा ४, आदिवासी तराईमा ६, कर्णालीमा ४, पिछडा वर्गमा ५, खसआर्यमा ६, दलित हिमाल पहाडमा ४, मुस्लिममा ८, दलित तराई मधेशमा ३ र आदिवासी हिमाल पहाडमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका प्रवक्ता सिंहले भने,‘राति ८ बजेपछि निर्वाचनको प्रक्रिया शुरु हँदैछ ।’ विहीबार बिहानबाट मतगणना सुरु भई मध्यान्नसम्म नजिता आउने अपेक्षा गरिएको सिंहले बताए ।

निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले महाधिवेशनस्थल जैनभवनमा मत माग्न व्यस्त छन् । महाधिवेशनमा भाग लिन विभिन्न ४२ जिल्लाका २ हजार ७ सय प्रतिनिधि विराटनगर आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !