१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल निवास कोटेश्वरमा देउवा र प्रचण्ड


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का असन्तुष्ट नेता माधव नेपाल मिल्ने संकेत थाहा पाएपछि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

देउवा महामन्त्री पूर्णबहादुर खड्कासाथ केही समयअघि कोटेश्वर पुगेका हुन् । यसैवीच माओवादी अध्यक्ष प्रचण्ड पनि नेपाल निवास पुगेका छन् । बेलुकी साढे ६ बजेदेखि शुरु भएको विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

यसअघि विपक्षी गठबन्धनको छलफलमा काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ हुने गर्दथ्यो । नेता नेपाल र प्रचण्ड देउवा निवास बुढानिलकण्ठ नै जाने गर्दथे । आजवाट नेपाल निवास कोटेश्वरमा पनि बैठक बस्न थालेको छ । अहिले विपक्षी गठबन्धनको निर्णायक शक्ति माधव नेपाल भएका छन् ।

विशेष स्रोतका अनुसार उनीहरूबीच आफूहरूले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट, प्रदेश स्तरसम्म विपक्षी गठबन्धन विस्तार गर्ने र गण्डकीमा बनेको विपक्षी गठबन्धनको सरकारबारे छलफल भईरहेको बुझिएको छ ।

पछिल्लो समय एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि संवादमा रहेकै बेला देउवा र प्रचण्ड नेपाललाई भेट्न उनको निवास पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा झलनाथ खनाल-माधव नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरेको छ । दुवै समुहका नेताहरु पार्टीको आन्तरिक विवाद मिलाउन कम्मर कसेर लागेका छन् ।

नेकपा एमाले एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार खनाल-नेपाल समूहलाई पनि सहमतिमा ल्याएर बैठकमा राख्ने योजना छ । उनले दुवै समूहका नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको छ ।

२०७५ जेठ २ गते कायम पार्टी संगठनका बैठक बोलाउन र फागुन २८ यताका निर्णय सच्याउन अध्यक्ष ओली लगभग तयार भएका छन् । तर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा गरिएको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओलीले राखेका छन् । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिए हस्ताक्षर पनि फिर्ता हुने अडान राखेको छ ।

प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका सांसदहरु एकै ठाउँमा उभिनुले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने ती नेताको भनाइ रहेको छ । एमालेका दुवै समुहहरु मिल्दा प्रदेश नम्वर १ र बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभावाट पास भएको छ ।

उनले धेरै कुरा मिल्दै गएकोले नमिलेका कुराहरु पनि मिल्दै जाने उनले बताए । मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न थालेको बताउदै उनले बाँकी कुरा पनि मिलाउने कोसिस जारी रहेको स्पष्ट पारे ।

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेलबीच ४ घण्टा लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल आज बिहान ९ बजे गौतम निवास पुगेकोमा उनीहरुबीच ९ बजेदेखि १ बजेसम्म ४ घण्टा लामो कुराकानी भएको बुझिएको छ ।

सुदुरपश्चिममा एमालेको नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली समूह र माधव समूहका सांसदले गृहकार्य थालेका हुन् । एमालेका दुवै समूह मिलेमा सुदुरपश्चिममा माओवादीको सरकार ढल्ने देखिन्छ ।

सर्वोच्च अदालतले निष्कासित एमालेका ४ जना प्रदेशसभा सदस्यहरुलाई पुनर्वहाली गर्न आदेश दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्राविधिक रुपमा अल्पमतमा परेर उनको पद फेरि धरापमा परेको छ । एमालेका दुवै समूह मिलेमा कर्णालीमा माओवादीको सरकार ढल्ने देखिन्छ ।

४ जना एमालेका सांसदको पुनर्बहाली भएसंगै ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेसँग सभामुखसहित २० जना सांसद भएका भएका छन् । यस्तै माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद रहेका छन् । साथै राप्रपाले पनि प्रदेश सरकारलाई समर्थन नगरेकोले जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !