१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा एमालेको बहुप्रतिक्षित स्थायी कमिटी बैठक जारी


स्थायी कमिटीको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको बहुप्रतिक्षित स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ । बैठक ११ बजे बस्ने भनेपनि १ घण्टा ढिलागरी १२ बजेपछि मात्रै शुरु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

जारी बैठकमा नेताहरूलाई सोधिएको स्पष्टीकरण, पार्टीको आन्तरिक जीवन, सरकारले प्रस्तुत गरेको बजेट तथा राष्ट्रिय सभाको चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको छ । नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार र सोमबार स्थगित भएको थियो ।

बैठकको पूर्वसन्ध्यामा हिजो सोमबार राति अबेरसम्म एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच याक एण्ड यति होटलमा छलफल भएको छ । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासस्वरुप ओली समुहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग वार्ता गरेका हुन् ।

यसअघि पनि विष्ट बाहेकका नेता याक एण्ड यति होटलमा वार्तामा बसेको भोलिपल्टै माधव नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको हुन लागेको सहमति विफल भएको थियो ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थायी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका बाँकी १२ सांसदमाथिको कारवाहीबारे निर्णय हुने सम्भावना रहेपनि कारवाही थप १/२ दिन स्थगित हुनसक्ने एमाले स्रोतले बताएको छ ।

एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने एक नेताले जानकारी दिए । ती सांसद्लाई सोधिएको स्पष्टीकरणबारे पनि निर्णय गरी कारबाही गर्न सक्ने सम्भावना समेत रहेको थियो ।

यसअघि बसेको एमालेको स्थायी कमिटी बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका १२ सांसदसँग स्पष्टीकरण मागेको थियो । उक्त बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।

गत १२ जेठमा स्थायी कमिटीले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले अझसम्म पनि स्पष्टीकरण बुझाएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !