२६ बैशाख २०८१, बुधबार

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने तयारी, यी हुन् सम्भावित मन्त्रीहरु


राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित जस्तै भएको छ । आज जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

औपचारिक निर्णय सार्वजनिक नभई सकेपनि जसपाको महन्थ ठाकुर समूहले सरकारमा जाने तयारीसँगै मन्त्रालय र संख्याबारे प्रधानमन्त्री ओलीसँग छलफल बढाएको छ । आज भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्या र कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

जसपा ठाकुर स्रोतका अनुसार ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । आज ओली ठाकुर जारी बैठकमा मन्त्रालय बाँडफाँटमा छलफल केन्द्रित भएको बुझिएको छ ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय जसपाको ठाकुर पक्षले लिएको बताइएको छ । मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि यसै हप्ता जसपा सरकारमा जाने निश्चित प्रायः छ ।

जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने बुझिएको छ । महतोले उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय पाउने सम्भावना रहेको छ । मन्त्री बन्ने सूचीमा शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् ।

ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चित प्रायः छ । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि लागी परेका छन् । जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् ।

महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !